काठमाडौँ । वैदेशिक व्यापारमा नेपालले क्रमिक रूपमा प्रगति गर्दै आएको छ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालको वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँको पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार १८.८० प्रतिशतले बढेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा आयात १३.१५ प्रतिशत र निर्यात ७७.७७ प्रतिशतले वृद्धि भएको हो । समीक्षा अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु नेपाल आयात भएको छ छ ।
गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । साथै, चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट दुई खर्ब ४७ अर्ब ५७ करोड दुई लाख १३ हजार रुपैयाँ बराबरको वस्तु विभिन्न देशमा निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँ बराबरको भएको थियो ।
जेठ मसान्तसम्म नेपालमा आयात भएका वस्तु मध्ये सबैभन्दा धेरै मूल्यको डिजेल आयात भएको छ । उक्त अवधिमा एक खर्ब १५ अर्ब ५५ करोड एक लाख ७१ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । त्यस्तै, सोही अवधिमा दोस्रो धेरै आयात सोयाबिन तेलको कच्चा पदार्थ ९५ अर्ब ७२ करोड ६१ लाख ५२ हजार रुपैयाँ बराबरको भएको छ । त्यस्तै, पेट्रोल तेस्रो धेरै मूल्य बराबरको र ग्यास चौथो धेरै मूल्य बराबरको आयात भएको छ।
समीक्षा अवधिमा नेपालबाट सबैभन्दा धेरै मूल्य बराबरको सोयाबिन तेल र सो सँग सम्बन्धित सामग्रीको निर्यात भएको छ । विभागको तथ्यांकअनुसार सो अवधिमा नेपालबाट ९३ अर्ब ५१ करोड ७१ लाख ८१ हजार रुपैयाँ बराबरको सोयाबिन तेल र त्यसका छोक्राको निर्यात भएको हो । त्यस्तै, सो अवधिमा ११ अर्ब ३३ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेल र त्यसको बिउ र नौ अर्ब ७८ करोड १० लाख १८ हजार रुपैयाँ बराबरको कार्पेट तथा टेक्सटाइल निर्यात भएको छ ।






































