काठमाडौँ । गत आर्थिक वर्षको मुनाफाबाट सगरमाथा जलविद्युत् कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीले शेयर धनीलाई ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ गरी कुल ५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
कम्पनीले चौथो वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पारित गर्ने भएको छ । त्यसका लागि कम्पनीले मंसिर १४ गते स्मार्ट दरबार, शंखमूल पार्क, काठमाडौँमा बिहान ९ बजेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभाले गत आर्थिक वर्षको सञ्चालक समिति तथा लेखा परीक्षकको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल, चालू आवका लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव तयार गरेको छ ।
साथै, बोनस शेयरपछि कम्पनीको पुँजी वृद्धि हुने हुँदा अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने विषयमा प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डा पनि रहेका छन् ।
वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । कात्तिक २५ गतेसम्म कायम शेयर धनीले प्रस्तावित लाभांश पाउन योग्य हुने कम्पनीले जनाएको छ ।






































