काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
योजना व्यवस्थापक सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। सानिमा बैंक कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक र डिपोजिटरी रहेको छ।
क्यापिटलका अनुसार २०८२ असार मसान्तसम्म फण्डको खुद सम्पत्ति मूल्य प्रतिइकाइ १० रुपैयाँ ५४ पैसा रहेको छ।
५ प्रतिशत प्रतिफल वितरण गर्दा इकाइधनीलाई कुल ३ करोड ३६ लाख २६ हजार ६ सय ३० रुपैयाँ नगद लाभांश वितरण हुनेछ।
सानिमा ग्रोथ फण्ड बन्दमुखी प्रकृतिको सामूहिक लगानी कोष योजना हो। लाभांश वितरण प्रयोजनका लागि क्यापिटलले भदौ १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।
यसअनुसार भदौ १७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका इकाइधनीले मात्रै प्रस्तावित ५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्। लाभांश वितरण भने आवश्यक प्रक्रिया पूरा भएपछि गरिने क्यापिटलले जनाएको छ।

































