काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले गत आवको वित्तीय विवरण प्रकाशन गरेको छ । त्यसअनुसार इन्स्योरेन्सले गत आवको असार मसान्तसम्म ४० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ४६ करोड ९ लाख रुपैयाँ कमाएको थियो । गत आवमा कम्पनीको खुद नाफा १२.५३ प्रतिशतले घटेको हो।
अघिल्लो आवमा कम्पनीले १ अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा गत आवमा २२.८६ प्रतिशतको वृद्धिका साथ २ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
गत आवमा कम्पनीको कुल आम्दानी पनि १२.५० प्रतिशतले बढेर ३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ जबकि अघिल्लो आवमा कम्पनीको कुल आम्दानी २ अर्ब ७७ करोड रुपैयाँ मात्रै थियो।
आम्दानी बढेसँगै कम्पनीको खर्च पनि १७.४७ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो आवमा २ अर्ब १६ करोड रुपैयाँ मात्रै थियो। यता अभिकर्तामा गर्ने खर्च भने कम्पनीले झण्डै आधाले वृद्धि गरेर ६ करोड ६८ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष ३ करोड ८२ लाख रुपैयाँ मात्रै थियो।
चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ९३ लाख रुपैयाँ र जगेडा कोषमा ३६ करोड ६५ लाख रुपैयाँ रहेको छ।
अघिल्लो वर्ष कम्पनीको बीमाकोषको आकार ६ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा गत वर्ष ४.१३ प्रतिशतले बढेर ६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।


































