काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले सरकारले गभर्नर नियुक्ति प्रक्रियामा बुझ पचाएर बसेको आरोप लगाएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले सरकारले सुशासनको धज्जी उडाएको र राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ध्यान नदिएको आरोप लगाएकी हुन् ।
केन्द्रीय बैंक मुलुकको वित्तीय मेरुदण्ड हो । तर त्यही केन्द्रीय बैंकको गभर्नर पद एक महिनाभन्दा बढी समयदेखि रिक्त छ । सरकार मौन र निर्णयविहीन बनेर बसेको छ, बैठकमा बोल्दै सांसद कार्कीले भनिन्, देशको अर्थतन्त्र संवेदनशील अवस्थामा पुगेको छ । तर राष्ट्र बैंकमा गभर्नरको पद खाली हुँदा पनि सरकार भने बुझ पचाएर बसिराखेको छ ।
राजनीतिक सौदाबाजी र भागवण्डाको खेलले गभर्नरको नियुक्तिलाई दिशाविहीन र निर्णयविहीन बनाएको आरोप उनको थियो । आर्थिक संकटको बेला राजनीतिक खिचातानीमा अल्झिन नहुने भन्दै उनले गभर्नरमा योग्य व्यक्ति चयन गर्न पनि आग्रह गरिन् । राजनीतिक अहंकारका कारण बैंक बिग्रिएमा त्यसको जिम्मा सरकारले लिनुपर्ने भनाइ उनको थियो ।
फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) मा नेपाल ग्रे लिष्टमा परेको उल्लेख गर्दै सांसद कार्कीले अन्तर्राष्ट्रिय नजरमा नेपालको वित्तीय प्रणाली शंकाको घेरामा परेको बताइन् । यस्तै सरकारले आर्थिक सुशासनको धज्जी उडाएको पनि आरोप लगाइन् ।
कृषि, पर्यटन, रियल स्टेट लगायतका क्षेत्र शिथिल रहनु र युवाहरू विदेश पलायन हुने क्रम नरोकिनु दुःखद् रहेको भनाइ उनले राखेकी थिइन् ।






































