काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमै जीवन बीमा कम्पनीहरुबाट एक अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमा पोलिसि सरेन्डर (बीमालेख समर्पण) भएको छ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार उक्त अवधिमा १० हजार २९२ वटा पोलिसीवापत एक अर्ब ५४ करोड रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो। साउन महिनामा १४ जीवन बीमा कम्पनीबाट कुल १० हजार २९२ वटा पोलिसी बन्द भएका छन् । एक महिनामै जीवन बीमा क्षेत्रबाट साढे १ अर्ब रुपैयाँ बाहिरिदा बीमा कम्पनीको व्यवसायमा नै धक्का पर्ने देखिएको छ ।
एलआईसी नेपालमा सबैभन्दा धेरै पोलिसि सरेन्डर भएको छ । साउनमा कम्पनीको ५१ करोड ३४ लाख ३७ हजार रुपैयाँ बराबरको दुई हजार ७१५ वटा पोलिसि सरेन्डर भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४८ करोड ४१ लाख ३१ हजार रुपैयाँ दुई हजार ७३१ वटा पोलिसी सरेन्डर भएको छ । तेस्रो स्थानमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३ करोड ५५ लाख ५३ हजार रुपैयाँ बराबरको ९७९ वटा पोलिसि सरेन्डर भएको छ।
सरकारी स्वामित्वमा राष्ट्रिय जीवन बीमा कम्पनीमा सात करोड ८७ लाख ८९ हजार रुपैयाँ को ७६७, हिमालयन लाइफमा सात करोड सात लाख ६७ हजार रुपैयाँको ८४७ बीमा पोलिसि सरेण्डर भएको छ ।

यसका साथै एशियन लाइफबाट ९८९ वटा पोलिसीको १३ करोड ५५ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीबाट ७६७ वटा पोलिसीको ७ करोड ८७ लाख रुपैयाँ, हिमालयन लाइफबाट ८४७ वटा पोलिसीको ७ करोड ७ लाख रुपैयाँ, नेशनल लाइफबाट ३५४ वटा पोलिसीको ६ करोड ३८ लाख रुपैयाँ, सुर्यज्योति लाइफबाट ५५२ वटा पोलिसीको ५ करोड ८५ लाख रुपैयाँ, मेट लाइफबाट ४१९ वटा पोलिसीको ४ करोड ४९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफबाट १७८ वटा पोलिसीको २ करोड ६६ लाख रुपैयाँ, आइएमई लाइफबाट २०१ वटा पोलिसीको २ करोड रुपैयाँ, सिटिजन लाइफबाट १९० वटा पोलिसीको १ करोड ५९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफबाट २०४ वटा पोलिसीको १ करोड २१ लाख, प्रभु महालक्ष्मी लाइफबाट ८६ वटा पोलिसीको १ करोड ५ लाख रुपैयाँ र सन नेपाल लाइफबाट ६९ वटा पोलिसीको ५७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी समर्पण भएको छ ।
साउन महिनामा नवीकरण बीमाशुल्क ९.०९ प्रतिशतले घटेको छ । गत आवको साउनमा १७ अर्ब ३० करोड ८९ लाख रुपैयाँ नविकरण बीमाशुल्क उठेको थियो। चालु आवको साउनमा भने १५ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ यस्तो बीमाशुल्क संकलन भएको छ । समीक्षा महिनामा १४ ठूला बीमा कम्पनीले १८ अर्ब ५३ करोड ७९ लाख बीमाशुल्क संकलन गरेका छन् ।






































