काठमाडौँ । एक महिनाको अवधिमा मात्रै २७ करोड ६५ लाख रुपैयाँ सिमेन्टको निर्यात भएको छ । चालु आर्थिक वर्ष २०८२र०८३ को पहिलो महिना साउनमा २७ करोड ६५ लाख रुपैयाँ बढीको सिमेन्टको निर्यात भएको छ।
गत आर्थिक वर्ष २०८१/०८२ को साउनको तुलनामा चालु आवको सोही महिनामा सिमेन्टको निर्यात ८६.२९ प्रतिशतले वृद्धि भएको हो।
गत आवको सोही महिनामा १४ करोड ८४ लाख रुपैयाँको ५२ हजार २९७ टन सिमेन्ट निर्यात थियो । उक्त सिमेन्टहरू भारत निर्यात भएको हो । गत आवको कार्तिक महिनादेखि भने सिमेन्टको निर्यात खच्किएको थियो।
ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) ले नेपालमा उत्पादन भएका सिमेन्ट सहित विभिन्न बस्तुलाई गुणस्तर प्रमाणपत्र रोक लगाएको थियो। जसले नेपालबाट भारत निर्यात हुने सिमेन्ट घटेको थियो । तर, चैतदेखि भारतले फेरि गुणस्तर जारी गर्न सुरु गरेपछि सिमेन्टको निर्यात वृद्धि भएको विभागले जनाएको छ ।
जसले गर्दा गत आवको असार महिनामा पनि सिमेन्टको निर्यात वृद्धि भएको थिया । हाल नेपालमा सञ्चालनमा रहेका सिमेन्ट उद्योगहरूले क्षमताको ५० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । वर्षाको सिजन भएकाले अहिले माग न्यून रहेको र असोजपछि माग वृद्धि हुने आशा रहेको उद्योगीहरूको भनाई छ ।
हाल अर्घाखाँची सिमेन्ट, पाल्पा सिमेन्ट, बालाजी सिमेन्ट, शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट लगायतले भारत निर्यात गर्दै आएका छन् ।































