काठमाडौँ । सेरामिक टायलको मापदण्ड निर्धारण गर्न मस्यौदा बनेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले प्रेसिङ प्रविधि प्रयोग गरी उत्पादन गरिने सेरामिक टायलको लागि मापदण्ड तयार पारेको हो ।
बजारमा टायलको माग र प्रयोग बढिरहेको भएपनि हालसम्म तिनको मापदण्ड भने निर्धारण गरिएको थिएन । यसले गर्दा टायल्सको बिक्रीवितरणमा अन्यौलता रहँदै आएको थियो ।
प्राविधिक र विज्ञ सम्मिलित टोलीले बनाएको उक्त मस्यौदालाई हाल विभागले प्रतिक्रियाका लागि आफ्नो वेभसाइटमा सार्वजनिक गरेको छ । प्रतिक्रियाका लागि दुई महिनाको समय राखिएको छ । त्यसपछि मस्यौदालाई नेपाल गुणस्तर परिषद्को बैठकमा पेश गरिनेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अध्यक्ष रहने बैठकले पारित गरेपछि सेरामिक टायलको उत्पादनमा नयाँ मापदण्ड लागू हुने विभागका निर्देशक अनिल शाक्यले बताए ।
त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान पुलचोकका इञ्जिनियर सञ्जीव महर्जन टायल विभिन्न प्रकारका हुने भएकाले तिनको वर्गीकरण आवश्यक रहको बताए । “भित्तामा लगाउने र भुइँमा राख्ने टायल फरक हुन्छन् । तिनको मापदण्ड पनि फरक हुन्छ”, आर्थिक भ्वाइससँगको कुराकानीमा उनले सुनाए ।
मस्यौदा निर्माण गर्ने क्रममा विज्ञको टोलीले नेपालभित्र रहेका केही टायल कम्पनीको निरीक्षण पनि गरेको थियो । निरीक्षण गरिएका कम्पनीमा मापदण्डमा भनिएको अनुसारकै प्रेसिङ प्रविधि र परीक्षण मेसिन पाएको महर्जनले बताए । अन्य केही कम्पनीहरूको फ्याक्ट्री भने निरीक्षण गर्न बाँकी रहेको उनले जानकारी दिए ।
मापदण्ड बनेपछि टायलको किनबेचमा रहँदै आएको अन्यौलता हट्ने विश्वास लामिनार टायलका चेयरम्यान सुब्रत धितालले व्यक्त गरे ।
“यो पनि टालय, त्यो पनि टायल भनेर बिक्रीवितरण भइरहेको थियो । टायल छुट्याउन कुनै मापदण्ड नै थिएन”, धितालले थप्दै भने, “यहाँसम्म कि आर्किटेक्ट इञ्जिनियरहरूमा पनि द्विविधा रहेको स्थिति थियो ।”
टायलले सोस्ने पानीको मात्रा, त्यसको लम्बाइ, चौडाइ तथा मोटाइ, आयातन, चिप्लो तथा खस्रो पन, आदिका आधारमा टायल्सको मापदण्ड तोकिएको छ ।
मस्यौदामा पानी सोस्ने आधारमा विभिन्न चार वर्गमा विभाजन गरिएको छ । टायलले आफ्नो तौलको ०.०८ प्रतिशत पानी सोस्ने टायललाई सेरामिक फुल्ली भेट्रिफाइड भनी नामाकरण गरिएको छ । यस्तै तौलको ०.०८ देखि ३ प्रतिशत पानी सोस्ने टायललाई पोरसिलिन, ३ देखि १० प्रतिशतसम्म पानी सोस्नेलाई सेरामिक फ्लोर टायल र १० प्रतिशतभन्दा बढी पानी सोस्ने टायललाई वाल टायल नाम दिइएको छ ।
पानीको मात्रा कम सोस्ने टायलको गुणस्तर राम्रो हुनुका साथै टिकाउ पनि हुने लामिनार टायलका चेयरम्यान सुब्रत धितालले बताए । मापदण्ड पारित भएपछि उपभोक्ताहरू ठगिनबाट जोगिने विचार उनले व्यक्त गरे ।
“भारतबाट आउने टायल र नेपालमा बन्ने टायलको गुणस्तर उस्तैउस्तै भएपनि भारतीय टायलको लेबलिङमा वर्ग प्रष्टसँग राखिएको पाइँदैन । नेपालमा उत्पादित टायलको लेबलिङ प्रष्ट खालको होस् भनेर हामीले प्रयास थालेका छौं”, उनले आर्थिक भ्वाइससँग भने ।
नेपालमै खनिजको सम्भावना
टायल बनाउन आवश्यक पर्ने माटो नेपालमै पाइए तापनि अन्य खनिज भने वाह्य मुलुकबाट आयात गर्नुपर्ने स्थिति रहेको लामिनार टायलका चेयरम्यान धितालले बताए । टायल उत्पादन गर्न काओलिन, सिलिका स्याण्ड, फेल्ड्सपार, जस्ता खनिजको आवश्यकता पर्दछ ।
लमिनार टायलले भारतको राजस्थानबाट फेल्डसपार खनिज आयात गर्ने गरेकामा डडेलधुरा खानिसम्बन्धी अध्ययन भइरहेको बताए । “डडेलधुरामा फेल्डसपार भेट्टिएको छ । खानि निर्माणका लागि छलफल भइरहेको छ । नीतिगत प्रक्रियाहरू पूरा गर्नुपर्ने भएकाले केही समय लाग्ने देखिन्छ”, उनले भने, “नेपालमै खनिजको उपलब्धता रह्यो भने निश्चय पनि कच्चा पदार्थका लागि अरू देशमा भर पर्नुपर्ने समस्या हट्नेछ ।”






































