काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् ।
राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले आज काठमाडौँमा आयोजना गरेको ‘इन्टरप्रेनसीप मोटिभेसन कन्क्लेभ’लाई सम्बोधन गर्दै उनले विदेश जाने वित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट युवाहरुलाई मुक्त गर्न जरुरी छ भने । “हामीकहाँ विकास हुनबाँकी छ । यसकारण यहाँ अवसर प्रशस्त छ ।
अर्थमन्त्री डा महतले मुलुकको अर्थतन्त्र लयमा फर्किएको र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकारात्मक सोच राख्नुपर्छ भने । उनले विदेशमा आर्जित पुँजी र सीप नेपालमा प्रयोग गर्न जोड दिए । अहिले पर्यटन क्षेत्र सुधार हुँदै गएको र सूचना प्रविधिका क्षेत्रमा पनि नेपालको राम्रो सम्भावना देखिन थालेको बाताए ।
चालु आर्थिक वर्षको बजेटबाट सरकारले सूचना प्रविधि क्षेत्रको सेवा निर्यातका लागि सहजीकरण गरेको उनले बताए । अहिले प्रविधिको प्रयोगले बजारीकरण गर्न सजिलो भएको उनको भनाइ छ ।
आर्थिक विकास, उद्यमशीलता र रोजगारी अवसर र चुनौती शीर्षकको पहिलो सत्रमा पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले उद्यमशीलता भनेको व्यक्तिको क्षमतामा निहित हुने र त्यस्तो क्षमता सिकाइमा भरपर्ने बताए । उद्यमशीलता विकासका लागि व्यक्तिको क्षमता विकास महत्वपूर्ण हुने उनको भनाइ छ । उद्यमशीलता प्रवद्र्धनका लागि सरकारले लिएका नीति र योजनाको लाभ युवाले पाउन नसकेको पनि पूर्व अर्थमन्त्री खतिवडाले उल्लेख गरे ।
सोही कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले युवा लक्षित उद्यमशीलता कार्यक्रमका लागि बैंकिङ क्षेत्रले १० प्रकारका सहुलियतपूर्ण कर्जा उपलब्ध गराइरहेको बताए । महिला उद्यमशीलता, शैक्षिक प्रमाणपत्र धितो कर्जालगायत बिना धितो कर्जाका कार्यक्रम सञ्चालन भइरहेकोमा त्यसको लाभ युवाहरुले लिनसक्नुपर्छ भने । उद्यमशीलता लक्षित कर्जा कार्यक्रमको उपलब्धि लक्ष्य अनुरुप नदेखिएको उनको भनाइ थियो ।


































