काठमाडौँ । यतिबेला किसानलाई धान रोपाइँको चटारो भएको छ । हालसम्म देशभर कुल धान रोपाइँ क्षेत्रफलको २०.३ प्रतिशतमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर १३ लाख ९१ हजार ३ सय २१ हेक्टरमा धान खेती हुनेमा हालसम्म २ लाख ८१ हजार ८ सय ४ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको हो ।
प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशले ४९.२ प्रतिशत रोपाइँसँगै सबैभन्दा अगाडि रहेको छ, गत वर्षको तुलनामा भने ५४.२ प्रतिशत भन्दा कम हो। कर्णालीमा हालसम्म ३९.१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, जुन अघिल्लो वर्षको ४७ प्रतिशतभन्दा घटेको हो ।
साथै, लुम्बिनी प्रदेशले हालसम्म २४.३ प्रतिशत रोपाइँ गरेको छ, जुन गत वर्षको २२.८ प्रतिशतभन्दा थोरै बढी हो। गण्डकी प्रदेशले २८.२ प्रतिशत रोपाइँ पुरा गरेको छ, गत वर्षको तुलनामा २१.९ प्रतिशत प्रगति भएको हो । यता, बागमतीमा २०.५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने मधेस प्रदेशमा सबैभन्दा कम ३.९ प्रतिशत मात्रै रोपाइँ भएको छ। कोशी प्रदेशमा हालसम्म १४.३ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
समयमा वर्षा नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो हुन पुगेको हो । सिञ्चित क्षेत्रमा रोपाइँ भए पनि आकाशे वर्षाको भरमा रहेका किसानहरूले अझै पनि खेत रोप्न सकिरहेका छैनन् ।
असार महिनामा १५ गते सकिँदासम्म समेत किसानले धानको बिउ खोजी गरिरहेका छन् । नेपालमा कृषियोग्य जमिन घटेको छ। तर कृषिमा आश्रित जनसंख्या भने बढेको पाइएको छ। यद्यपि नेपालको जनसंख्याको ठुलो हिस्सा कृषिमा आबद्ध भए पनि नेपालमा धानको बिउ भने आयात हुने गरेको छ ।
नेपालमा धानको बिउको आयात एक वर्षमै करिब ३१ प्रतिशतले बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा (जेठ मसान्तसम्म) १ अर्ब १६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबरको धानको बिउ आयात भएको छ ।
गत वर्षको सोही अवधिमा ८८ करोड ६५ लाख २१ हजार रुपैयाँको बीउ आयात भएको थियो। किसानहरूमा रैथाने जातभन्दा हाइब्रिड धानको आकर्षण बढ्दै जाँदा बीउमा परनिर्भरता बढेको कृषि विज्ञहरूको धारणा छ ।
आयात परिमाण हेर्ने हो भने चालु आर्थिक वर्ष २५७०.६८ मेट्रिक टन धानको बीउ आयात भएको छ। अघिल्लो वर्ष २१०७.२३ मेट्रिक टन धानको बीउ आयात भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ८८ करोड ६६ लाख ९ हजार रुपैयाँको २१०७.४६ मेट्रिक टन धानको बिउ आयात भएको थियो।
यसैगरी आर्थिक वर्ष २०७९/८० मा ७५ करोड ६३ लाख ९३ हजार रुपैयाँको १८८३.०९ मेट्रिक टन, आर्थिक वर्ष ९२०७८/०७९ मा ८७ करोड ५ लाख ९२ हजार रुपैयाँको ५११५.०७ मेट्रिक टन बिउ आयात भएको तथ्यांकमा उल्लेख छ ।

































