काठमाडौं म्याग्दीको बेनीमा आयोजना भएको आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला, २०८१ मा १० करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।
म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा माघे सङ्क्रान्तिका अवसरमा गत पुस २८ गतेदेखि यही माघ ८ गतेसम्म आयोजना भएको महोत्सवमा कूल दुई सय ३० वटा प्रदर्शनी कक्ष राखिएका थिए । महोत्सवमा एक लाखले अवलोकन गरेको र १० करोड बराबरको कारोबार भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।
‘हाम्रो लक्ष्य अनुसार नै कारोबार गर्न र दर्शक भित्र्याउन सफल भएका छौँ’, उनले भने, ‘टिकट बिक्रीबाट मात्रै करिब ५० लाख आम्दानी भएको छ ।’
महोत्सवमा स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य, सूचना प्रविधि, कपडा, खाद्यान्न, भाडाको प्रर्दशनी गरिएको थियो । स्थानीय उत्पादनका ३० वटा स्टलमा भने निःशुल्क प्रर्दशनीको व्यवस्था मिलाइएको थियो । नेपाली कागज, सिमीको दाल, अल्लो, ढाका कपडा, मौलिक खानाका परिकारका स्टल पनि राखिएको थियो ।


































