काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन विकास लघुवित्तको खुद नाफासँगै अन्य सूचक पनि बढेका छन् । यसअवधिमा यसको खुद नाफा ३३.४५ प्रतिशतले बढेर ३५ करोड ५६ लाख ८८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको समीक्षा अवधिमा लघुवित्तले २६ करोड ६५ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले यसको खुद नाफा पनि बढेको हो ।
खुद ब्याज आम्दानी २८ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ४४ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ३३.४५ प्रतिशतले बढेर ५० करोड ८१ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५० पैसाले बढेर ३० रुपैयाँ ८७ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ९२ पैसा छ । चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ रहेको छ ।
































