पाँचथर । आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन् । तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिनाले विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाइहेका छन् । गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले मनग्य आम्दानी पनि गर्दै आएको छ ।
तिम्सिनाको दैनिकी आजभोलि सदाभन्दा केही फरक छ ।
“आजभोलि सधैंभन्दा धेरै काम गर्नुपर्छ । अरु बेलाचाहिँ काम त गर्नुपर्छ, तर धेरै र गाह्रो काम हुँदैन”, तिम्सिनाले भने, “गाउँघरमा कामले भने कहिल्यै छाड्दैन ।”
तिम्सिना परिवारले याङवरक गाउँपालिका–६ रमिते र हिलिहाङ गाउँपालिका–१ फेदापामा करिब ४० रोपनी क्षेत्रफलमा खेती गर्ने गरेको छ । यो जमिन केही तिम्सिना परिवारको आफ्नै हो भने केही बन्दकीमा लिइएको हो । यहाँ गोलभेडा, खुर्सानी, सुन्तलालगायत नगदेबाली लगाइएको छ । दुवैतर्फ घर छन्, जहाँ पशुपालन पनि छ । “पाँच जनाको परिवारले सबै काम भ्याउँदै आएका छौँ”, २७ वर्षका कमलले भने, “सब्जीखेती र पशुपालनबाट हुने आम्दानीले हामी सन्तुष्ट छौँ ।”
तिम्सिनाको परिवार ११ वर्षअघि ताप्लेजुङको चाक्सिबोटेबाट बसाइँ सरेर पाँचथर आएको थियो । मेची राजमार्ग नजिकै बसोबास गरेको तिम्सिना परिवारले व्यावसायिक रूपमा गोलभेँडाखेती गर्न थालेको १० वर्ष भयो । एक टिपाइमा तिम्सिना परिवारले २० देखि ६० क्यारेटसम्म गोलभेँडा उत्पादन गर्ने गरेको छ । एक क्यारेटमा औसतमा २३ किलोग्राम गोलभेडा हुन्छ । एकै बिरुवाबाट तीनदेखि सातपटकसम्म गोलभेँडा टिपाइ हुने गर्छ ।अहिले व्यवसायीहरूले प्रतिकिलो २० रुपैयाँ मा गोलभेडा खरिद गरेर लगिरहेका छन् । अहिले खर्च कटाएर वार्षिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको कमलले सुनाए ।
यहाँ गोलभेडा फागुन, चैत र भदौमा गरी दुई पटक लगाउने गरिएको छ । गोलभेडामा सामान्य विषादी लगाउने गरिएको कृषक बताउँछन् । रोग कीराको अत्यधिक समस्या हुने भएकाले विषादी प्रयोग गर्ने गरिएको उनीहरूको भनाइ छ ।

































