काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उत्साहजनक वित्तीय सुधार देखाएको छ। कम्पनीले यस अवधिमा ४२ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। यो नतिजा गत आर्थिक वर्षको सोही अवधिको ३१ करोड १६ लाख रुपैयाँको तुलनामा ३६.७५ प्रतिशतले बढी हो।
नाफा बढ्नुमा वित्तीय खर्च घट्नु प्रमुख कारणका रूपमा देखिएको छ। अघिल्लो वर्ष ३३ करोड ९३ लाख रुपैयाँ रहेको वित्तीय खर्च चालु वर्षमा घटेर २१ करोड ६१ लाख रुपैयाँमा झरेको छ। प्रशासनिक खर्च पनि २ करोड ५३ लाखबाट कम हुँदै १ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि, ह्रासकट्टी खर्च भने २० करोड ९८ लाखबाट बढेर २१ करोड १७ लाख रुपैयाँ पुगेको छ।
आम्दानीतर्फ हेर्दा, कम्पनीले विद्युत बिक्रीबाट ९५ करोड ९२ लाख रुपैयाँ प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११.७९ प्रतिशतले बढी हो। अन्य शीर्षकको आम्दानी भने घटेर ८८ लाख १९ हजार रुपैयाँमा आइपुगेको छ। वित्तीय आम्दानी पनि १ लाख ६० हजारबाट घटेर ७७ हजार रुपैयाँमा सीमित भएको छ।
कम्पनीको चुक्तापुँजी ६ अर्ब ७ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कुल चालु सम्पत्ति ७४ करोड ८९ लाख रुपैयाँ पुगेको छ भने चालु दायित्व १ अर्ब ५९ करोड रुपैयाँ रहेको छ।
प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि सुधार देखिएको छ। अघिल्लो आवमा १०.२६ रुपैयाँ रहेको ईपीएस अहिले बढेर १४.०३ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ११७.५८ रुपैयाँ, मूल्य–आम्दानी अनुपात २०.६२ गुणा र तरलता अनुपात ०.४७ प्रतिशत कायम भएको छ।






































