काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले ३१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार उक्त रकम बराबरको नाफा कमाएको हो । गत वर्ष कम्पनीले २१ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको सञ्चालन नाफा र विद्युत् उत्पादनबाट हुने आम्दानी बढेसँगै नाफामा उल्लेख्य सुधार आएको प्रस्तुत विवरणमा उल्लेख छ।
गत वर्ष २१ करोड ७३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले अहिले २२९.१० प्रतिशतले बढाएर ७१ करोड ५२ लाख रुपैयाँ पुगेको छ।
साथै, गत वर्ष ६२ करोड रुपैयाँ रहेको विद्युत् उत्पादनबाट हुने आम्दानी अहिले बढेर ८५ करोड ८० लाख रुपैयाँ पुगेको छ। हाइड्रोपावरको जगेडा कोषमा ५५ करोड ७६ लाख रुपैयाँ जम्मा रहेको छ। यसको इपीएस १०.२६ रुपैयाँ रहेको छ ।
त्यस्तै, समीक्षा अवधिसम्म आउँदा चुक्ता पुँजी ६ अर्ब ७ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.१८ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।






































