काठमाडौं । सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताका संख्या हरेक दिन बढिरहेको छ । अझ सेयर कारोबार अनलाइनमार्फत् नै गर्न मिल्ने भएपछि लगानीकर्ताहरु यसतर्फ आकर्षित भएको देखिन्छ ।
नेपालमा सेयरको कारोबार शुरु हुँदा बैंकमा गएर सेयर खरिदका लागि आवेदन दिनु पर्ने अवस्था थियो । त्यसपछि ब्रोकर कार्यालयमा गएर चिच्चाएर अर्डर दिनुपर्ने अवस्था थियो ।
के हो टीएमएस ?
जसका लागि सर्वप्रथम ब्रोकर कार्यालयमा गएर टीएमएसको नयाँ खाता खोल्नुपर्ने हुन्छ । टिएमएस भनेको ब्रोकर कम्पनीले प्रवाह गर्ने सेवा हो । यसको लागि छुट्टै खाता खोलेर युजर आईडि र पासवर्ड लिनुपर्ने हुन्छ । उक्त सेवा लिए बापत कुनै पनि शुल्क लाग्दैन । ब्रोकर कार्यालयमा केवाईसी फारम अपडेट गराएपछि टीएमएसका लागि फारम भर्नुपर्ने हुन्छ । ब्रोकर कार्यालयबाट इमेलमा पनि टीएमएस युजर नेम र पासवर्ड प्राप्त गर्न सकिनेछ ।
कारोबार कसरी गर्ने ?
युजर नेम र पासवर्ड प्राप्त गरे पश्चात तपाईंले विदाको दिन बाहेक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म शेयर खरिद बिक्री गर्न सकिन्छ । त्यसबाहेक ती दिनमा विहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्मको १५ मिनेटको समयमा प्रि–ओपन सेसनमा पनि कारोबार गर्न सक्नुहुन्छ ।
त्यस्तै, टीएमएसबाट सेयर बिक्री गर्नका लागि तपाईंले अर्डरमा क्लिक गरेर सेल भन्ने अप्सनमा गइसकेपछि कम्पनीको नाम, बिक्री गर्न चाहेको सेयरको मात्रा र मूल्य लेखेर बिक्री गर्न सक्नुहुन्छ । बिक्री भए नभएको तत्कालै देखाउने हुँदा झुक्किने सम्भावना हुँदैन । सेयर मूल्य राख्दा तत्कालको मूल्य भन्दा न्यूनतम वा अधिकतम् २ प्रतिशत सम्म तलमाथि गरेर अर्डर राख्न सकिन्छ ।
टीएमएसबाट कुनै कम्पनीको सेयर खरिद गर्दा पनि बाइ अर्डरमा गएर कम्पनीको नाम, खरिद गर्न चाहेको कित्ता र मूल्य राखेर समिट गर्न सकिन्छ । शेयर खरिदका लागि आफ्नो ब्रोकर कम्पनीमा सम्पर्क गरी केही कम धरौटी राखी कारोबार सुरु गर्न अनुमति लिनुपर्दछ ।
कति शुल्क लाग्छ ?
सेयर बिक्री गर्दा फाइदा भएको पैसामा मात्रै ५ प्रतिशत कर लाग्छ भने डिपी शुल्क भनेर प्रतिकारोबार २५ रुपैयाँ लाग्छ । त्यसबाहेक धितोपत्र बोर्डले पनि ०.०१५ प्रतिशत कमिसन लिन्छ ।
शेयर बिक्री गरेपछि इडिआईएस गर्नुपर्दछ । अर्थात् तपाईको खातामा भएको शेयर बिक्री गरेपछि लैजाने अनुमति माग्दछ, त्यस्तो अनुमति बिक्री गरेको भोलिपल्ट ३ बजेभित्र स्वीकृति दिईसक्नुपर्नेछ । त्यसपछि मात्रै औपचारिक रुपमा बिक्री भएको मानिने छ । इडिआईएस नगर्दा उल्टो जरिवना तिर्नुपर्ने हुनसक्छ ।



































