काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आगामी चार वर्षको कार्ययोजना तयार गरी निश्चित क्यालेन्डरअनुसार पार्टी सञ्चालन गर्ने बताएका छन्।
नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथपछि सम्बोधन गर्दै महाधिवेशनबाट पारित नीति तथा सङ्गठन सुधारका योजनालाई एकीकृत कार्ययोजनामा समेटेर अघि बढ्ने बताए।
संगठनका नीति र सुधारका कार्ययोजनालाई समेटेर एकीकृत कार्ययोजना तयार गर्ने निर्णय गर्नुपर्ने उनको भनाइ छ। उक्त कार्ययोजना पार्टी कार्यालयले तयार पार्ने र आगामी बैठकमा पेस गरिने बताए।
महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमलाई पार्टीका नेता–कार्यकर्ता र आम नागरिकसम्म पुर्याउनुपर्नेमा जोड दिए। वडा तहका पार्टी सदस्यदेखि समर्थक र आम नागरिकसम्म पार्टीले लिएका नीति तथा कार्यक्रमबारे जानकारी गराउनुपर्ने उनले बताए।
मंसिर महिनाभरि ‘कांग्रेस तयार छ’ भन्ने विशेष अभियान सञ्चालन गर्ने घोषणा पनि गरे। महाधिवेशनबाट पारित विषयलाई दस्तावेजीकरण गर्नुका साथै मुलुकका वर्तमान समस्या समाधान गर्न र नागरिकका आकाङ्क्षा सम्बोधन गर्न पार्टी तयार रहेको सन्देश अभियानमार्फत नागरिकसमक्ष पुर्याइने उनले बताए।
उनले भने, ‘अब समीक्षा र आत्मालोचनाको चरण सकियो, अब अगाडि बढ्ने हो। कांग्रेसले अब जिम्मेवारी वहन गर्दै अघि बढ्नुपर्नेछ। प्रतिपक्ष, स्थानीय सरकार र राष्ट्रिय शक्तिका रूपमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका पूरा गर्न तयार छ।’
मंसिर महिनामा सञ्चालन हुने अभियानको विस्तृत कार्ययोजना पार्टी कार्यालयले तयार गर्ने बताए। केन्द्रीय बैठकबाट अभियानको सैद्धान्तिक पक्ष पारित गरी बाँकी तयारी अघि बढाइने समेत बताए।


































