काठमाडौं । लामो समयदेखि कम्पनीको विवरण अद्यावधिक नगरेका, नवीकरण नगरेका तथा कर, शुल्क र जरिबाना तिर्न बाँकी रहेका व्यवसायीलाई सरकारले थप राहत दिएको छ। सरकारले यस्तो छुट सुविधा उपयोग गर्ने समयसीमा आगामी २०८३ पुस मसान्तसम्म विस्तार गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उद्योगी–व्यवसायीको माग र उनीहरूले भोग्दै आएका व्यावहारिक समस्यालाई ध्यानमा राख्दै यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको छुटको अवधि थप गरिएको हो। मन्त्रालयले कात्तिक ९ गते यससम्बन्धी निर्णय गरेको जनाएको छ।
कम्पनी ऐन, २०६३ अनुसार दर्ता भएका तर तोकिएको समयभित्र विवरण पेस नगरेका, नवीकरण नगरेका वा कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना बुझाउन बाँकी रहेका कम्पनीले यो सुविधा पाउनेछन्।
सरकारको निर्णयअनुसार कारोबारलाई नियमितता दिन वा कम्पनी दर्ता खारेज गर्न चाहने कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि लाग्ने नियमित कर, शुल्क तथा दस्तुर बुझाउनुका साथै आवश्यक विवरण आगामी पुस मसान्तभित्र पेस गर्नुपर्नेछ।
तोकिएको अवधिभित्र प्रक्रिया पूरा गर्ने कम्पनीले अघिल्ला आर्थिक वर्षमा लागेका वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबानामा छुट पाउनेछन्।
सरकारको यो व्यवस्थाले लामो समयदेखि कानुनी प्रक्रिया पूरा गर्न नसकेका कम्पनीलाई पुनः कानुनी दायरामा आउन तथा आवश्यक प्रक्रिया पूरा गरेर व्यवसाय सञ्चालन वा दर्ता खारेज गर्न सहज हुने अपेक्षा गरिएको छ।
मन्त्रालयले विशेष छुटको सुविधा लिन चाहने कम्पनी तथा व्यवसायीलाई पुस मसान्तभित्रै आवश्यक विवरण र प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।


































