काठमाडौं । बाढी–पहिरोले ५० भन्दा बढी ठाउँमा अवरुद्ध बेनी–जोमसोम–कोरला सडकमा अधिकांश अवरोध हटाइएको छ। दुई स्थानको काम बाँकी रहेकाले आगामी सोमबारसम्म सडकमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ।
असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र विभिन्न स्थानमा गएको पहिरोका कारण सडकखण्ड अवरुद्ध भएको थियो।
पूर्वाधार विकास मन्त्रालयका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा कालीगण्डकीले बगाएको पुलको एप्रोच सडक र रघुगङ्गा गाउँपालिका–२ कुनौटामा मात्रै ट्र्याक खोल्ने काम बाँकी छ।
पोखरेबगरमा ग्याबियन टो–वाल निर्माण गरी माटो भर्ने काम भइरहेको छ भने कुनौटामा एक्साभेटरमार्फत सडकको ट्र्याक खोल्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।
अन्य स्थानमा ट्र्याक खोलिसकिए पनि सडक स्तरोन्नतिको काम भने जारी रहेको छ। बाँकी कामलाई तीव्रता दिइएकाले आगामी सोमबारसम्म सडकमा सवारीसाधन सञ्चालन गर्न सकिने मन्त्रालयको अपेक्षा छ।


































