काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार नुवाकोट, रसुवा, मनाङ, गुल्मी, म्याग्दी, मुस्ताङ, नवलपरासी पूर्व र लमजुङका सडक सञ्जाल प्रभावित भएका हुन्।
नुवाकोटको टोखा-छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीका अनुसार उक्त सडकमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
रसुवाको पासाङ ल्हामु राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, पहिरो, लेदो, बाढी र सडक भासिएका कारण अन्य जिल्लाका सडक पनि प्रभावित बनेका छन्। मनाङको बेँसीसहर-खाङसार, गुल्मीको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी-जोमसोम, मुस्ताङको जोमसोम-कोरला, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र लमजुङको मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा यातायात अवरुद्ध भएको छ।

































