काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २९ अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.५० प्रतिशत बढी हो।
यस अवधिमा कम्पनीको नाफा २२.२१ प्रतिशत बढेर ६० करोड ३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ४९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी ९.१४ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १०.२१ प्रतिशत र कुल खर्च ८.५९ प्रतिशत बढेको देखिन्छ ।
८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा ४ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषमा १ अर्ब ११ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २ अर्ब २९ करोड रुपैयाँ र अन्य इक्विटीमा ५४ करोड १२ लाख रुपैयाँ सञ्चित छ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७५ पैसा बढेर ९ रुपैयाँ ७५ पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६१.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ६५ गुणा रहेको छ।




































