जुम्ला । दुई दिनदेखि हराइरहेका तीन बालकको सहारा एनसेलको टावर बनेको छ । हराइरहेका तीनै बालक बाटो फेला नपर्दा एनसेलको टावरमुनि आश्रय लिएर बसेका थिए, ती बालकहरु अन्ततः सकुशल अवस्थामा फेला परेका छन्। विद्यालय जाने भन्दै घरबाट निस्किएका उनीहरूलाई स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा जुम्ला–कालीकोट सिमानाको लेकाली क्षेत्रमा भेटिएको हो।
फेला पर्नेमा ७ वर्षीय परिवर्तन विष्ट, ८ वर्षीय प्रशान्त खत्री र १२ वर्षीय विनोद रोकाय रहेका छन्।
इलाका प्रहरी कार्यालय नराकोटबाट प्रहरी टोली परिचालन भएपछि खोजी तीव्र पारिएको थियो। व्यापक खोजी अभियानपछि उनीहरू उच्च भूभागको जंगल नजिकै फेला परेका हुन्।
प्रारम्भिक जानकारीअनुसार बालकहरू जंगलतर्फ काफल खान गएका बेला बाटो बिर्सिएका थिए। फर्किने बाटो नपाएपछि उनीहरूले दुई रात जंगलमै एक टावरमुनि बसेर बिताएका थिए।
स्थानीय गोठालाले देखेपछि प्रहरीलाई खबर गरेपछि उनीहरूको उद्धार सम्भव भएको हो। त्यसपछि प्रहरी टोलीले उनीहरूलाई सुरक्षित रूपमा घर फर्काएको छ।
दुई दिनसम्म हराएका बालकहरू सकुशल भेटिएपछि गाउँमा खुशीको वातावरण बनेको छ भने अभिभावकले राहतको सास फेरेका छन्।
































