वासिङ्टन डिसी । अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई नेपालका तुलनात्मक लाभ भएका क्षेत्रमा लगानी बढाउन वासिङ्टनस्थित नेपाली दूतावासले आग्रह गरेको छ।
‘नेपाली डायस्पोरा र नेपालको समृद्धि: व्यापार, लगानी तथा नवप्रवर्तनमा चुनौती र अवसर’ विषयक छलफल कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत शरदराज अर्यालले विदेशमा रहेका नेपालीको पुँजी, सीप र ज्ञानलाई मातृभूमिको विकासमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए। उनले नेपालमा लगानीमैत्री वातावरण बिस्तार हुँदै गएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे।
कार्यक्रममा सहभागीहरूले नेपालमा लगानीका सम्भावना, अवसर तथा विद्यमान चुनौतीबारे विचार–विमर्श गरेका थिए।
त्यसैगरी महावाणिज्यदूत लक्ष्मण खनालले सूचना प्रविधि, पर्यटन र ऊर्जा क्षेत्र नेपालमा उच्च प्रतिफल दिने क्षेत्र भएकाले प्रवासी नेपालीलाई त्यस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरे।
उद्यमी लोक तिवारीले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीप र अनुभवलाई नेपालमै उपयोग गर्नुपर्ने बताउँदै विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आवश्यक रहेको धारणा राखे।





































