काठमाडौं । सरकारले सुकुम्बासीलाई लालपुर्जा वितरण प्रक्रिया अघि बढाएको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलका अनुसार यही असारको तेस्रो सातादेखि लालपुर्जा वितरण कार्य सुरु गरिनेछ।
प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले आवश्यक तयारी पूरा भइसकेको जानकारी दिइन्। उनले सुकुम्बासी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै लालपुर्जा वितरण कार्य अगाडि बढाइने स्पष्ट पारिन्।
यसअघि भूमि आयोगमार्फत सञ्चालन हुँदै आएको काम अहिले सरकारले नयाँ संरचनामार्फत अघि बढाइरहेको छ। सोहीअनुसार भूमि सम्बन्धी समिति गठन गरेर सुकुम्बासीको समस्या समाधान गर्ने प्रयास भइरहेको जनाइएको छ।
यसैबीच, सुकुम्बासी व्यवस्थापनको विषयमा विभिन्न प्रश्न उठिरहेका छन्। विशेषगरी काठमाडौंमा विस्थापित गरिएका सुकुम्बासीहरू होल्डिङ सेन्टरमा बस्न बाध्य रहेको र त्यहाँको व्यवस्थापन सन्तोषजनक नभएको भन्दै आलोचना भइरहेको छ।
सरकारले भने अब व्यवस्थित रूपमा लालपुर्जा वितरण गर्दै दीर्घकालीन समाधानतर्फ अघि बढ्ने जनाएको छ।





































