काठमाडौं । विदेशी भूमिबाट उत्पत्ति भएका विनाशकारी रोग तथा किरा आयातित कृषि उपजमार्फत नेपाल भित्रिए त्यसले कृषि क्षेत्र र जैविक विविधतामा गम्भीर संकट निम्त्याउन सक्ने भन्दै सरकारले जैविक सुरक्षामा कडाइ थालेको छ।
विशेषज्ञहरूका अनुसार नेपालको आफ्नै विशिष्ट पारिस्थितिक प्रणाली रहेकाले बाह्य मुलुकबाट आएका मिचाहा किरा र रोगले यहाँ अनुकूल वातावरण पाए तीव्र रूपमा फैलिन सक्छन्। यस्ता किरालाई नियन्त्रण गर्ने प्राकृतिक सिकारीको अभाव हुँदा तिनले बालीनालीमा ठूलो क्षति पुर्याउने जोखिम रहन्छ।
यही जोखिमलाई मध्यनजर गर्दै सरकारले आयातित कृषि उपजको निगरानी बढाउँदै आएको छ।
प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार २२ असारदेखि लागू भएको नयाँ मापदण्ड पूरा नगरेका भारतीय बदामका कन्साइन्मेन्ट नेपाल प्रवेश गर्न रोकिएका छन्।
केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलका अनुसार भारतबाट आउने प्रत्येक बदामको कन्साइन्मेन्टले नेपालले तोकेका जैविक सुरक्षा मापदण्ड पूरा गरेको हुनुपर्नेछ। आयातका लागि भारतको राष्ट्रिय बिरुवा संरक्षण संगठनबाट जारी फाइटोस्यानिटरी प्रमाणपत्रमा नेपालले तोकेका प्रतिबन्धित जीवबाट बदाम मुक्त रहेको अतिरिक्त घोषणा अनिवार्य गरिएको छ।
विशेषगरी लेसर मिलवर्म, मेडिटरेनियन फ्लोर मथ, ब्याक्टेरियल फ्रुट ब्लच, ब्ल्याकआई काउपी मोजाइक भाइरस, काउपी माइल्ड मोटल भाइरस र पिनट स्ट्राइप भाइरसजस्ता हानिकारक रोगकिराबाट मुक्त रहेको प्रमाण आवश्यक पर्ने व्यवस्था गरिएको छ।
यस्तै, आयातअघि मिथाइल ब्रोमाइड प्रयोग गरी निश्चित मापदण्डअनुसार फ्युमिगेसन गरिएको, प्रयोगशाला परीक्षण प्रतिवेदन उपलब्ध भएको र प्याकेजिङ सुरक्षित भएको हुनुपर्ने सर्त राखिएको छ।
“आवश्यक कागजात र अतिरिक्त घोषणा पूरा नगरेका कारण भारतबाट आएका बदामका कन्साइन्मेन्ट सीमामै रोकिएका छन्,” पौडेलले भने, “नेपालले तोकेका सम्पूर्ण फाइटोस्यानिटरी मापदण्ड पूरा गरी प्रमाणसहित आउनेलाई मात्र प्रवेश अनुमति दिइनेछ।”
अर्बौंको बदाम आयात, भारतीय उत्पादनको प्रभुत्व
नेपालले पछिल्लो आर्थिक वर्षको ११ महिनामा मात्रै २ अर्ब १६ करोड रुपैयाँभन्दा बढी मूल्यको बदाम आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
यस अवधिमा १ करोड ७० लाख किलोभन्दा बढी बदाम नेपाल भित्रिएको छ। कुल आयातमध्ये अधिकांश बदाम भारतबाट आएको छ। भारतबाट मात्रै करिब १७ हजार टन बदाम आयात भएको तथ्यांक छ।
नेपालमा बोक्रा छोडाइएको बदामको दाना, बोक्रासहित काँचो बदाम र खेतीका लागि प्रयोग हुने बिउ आयात हुने गरेको छ।
स्वदेशमै उत्पादन बढाउने सम्भावना
कृषि विज्ञहरूका अनुसार नेपाल बदाम उत्पादनमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको छ। राष्ट्रिय तेलबाली अनुसन्धान कार्यक्रमका संयोजक तथा वरिष्ठ वैज्ञानिक डा. सुवास सुवेदीका अनुसार नेपालको माटो र हावापानी बदाम खेतीका लागि उपयुक्त छ।
हाल नेपालमा करिब ३ हजारदेखि ३ हजार ५ सय हेक्टर क्षेत्रफलमा बदाम खेती हुँदै आएको छ भने वार्षिक ४ हजार ५ सयदेखि ५ हजार टन उत्पादन हुने गरेको छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले बदामका उन्नत जात विकास गरिसकेको छ। पछिल्लो पटक सिफारिस गरिएको ‘नवलपुर बदाम–१’ जातले प्रतिहेक्टर २ देखि साढे २ टनसम्म उत्पादन दिन सक्ने वैज्ञानिकहरूको दाबी छ।
विज्ञहरूले बदाम खेतीलाई प्रवर्द्धन गर्न पकेट क्षेत्र घोषणा, प्रविधि विस्तार र किसानलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताएका छन्।
केरा, आँप, धनियाँ र एभोकाडोमा पनि कडाइ
सरकारले यसअघि पनि जोखिमयुक्त कृषि उपजमा जैविक सुरक्षा मापदण्ड कडा बनाउँदै आएको छ। चीनबाट ल्याइएको धनियाँ र युगान्डाबाट आयात गरिएको एभोकाडोमा रोगकिरा भेटिएपछि त्यसमा पनि सर्त लागू गरिएको थियो।
भारतबाट आयात हुने केरामा पानामा रोग (टीआर–४) र आँपमा हानिकारक विषादी तथा किराको जोखिम देखिएपछि निगरानी बढाइएको छ।
अधिकारीहरूका अनुसार आयातलाई पूर्ण रूपमा रोक्नेभन्दा पहिले जोखिमयुक्त रोगकिरा पहिचान गरी प्रवेश सर्त तोक्ने नीति लिइएको छ। सर्त पूरा नगरी ल्याइएका वस्तुमा परीक्षणका क्रममा समस्या देखिए आयात प्रतिबन्धसम्मको कदम चाल्न सकिने व्यवस्था छ।
कृषि विज्ञहरूका अनुसार विदेशी रोग र किरा एक पटक नेपालमा स्थापित भए त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न निकै कठिन हुन्छ। यस्ता जीवले एउटा बाली मात्र नभई अन्य तरकारी, फलफूल र भण्डारण गरिएका अन्नबालीमा समेत ठूलो क्षति पुर्याउन सक्ने भएकाले जैविक सुरक्षा नेपालको कृषि सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय बनेको छ।



































