काठमाडौं । भारतको कर्नाटकस्थित बेलागावीमा फ्रिज विस्फोट भएर घरमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान बजार प्रहरी चौकीअन्तर्गत चावत गल्लीमा रहेको धामोने परिवारको घरमा दुर्घटना भएको हो। विस्फोटपछि लागेको आगो घरभरि फैलिँदा भारती धामोने (५०), शारदा धामोने (४५), गंगा धामोने (२५) र प्रिया धामोने (२४) को मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा गजानन धामोने (६५) र रोशन धामोने (२१) गम्भीर रूपमा घाइते भएका छन्। उनीहरूको शरीरमा आगोले गहिरो चोट पुर्याएको र अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार शारदा गजाननकी श्रीमती तथा भारती उनकी बहिनी थिइन्। गंगा र प्रिया गजानन तथा शारदाका छोरी हुन् भने रोशन उनीहरूकै छोरा हुन्।
प्रारम्भिक अनुसन्धानअनुसार घरभित्र राखिएको फ्रिज विस्फोट भएपछि आगो लागेको र केही समयमै घरभरि फैलिएको थियो। आगोका कारण घरभित्र रहेका परिवारका सदस्य बाहिर निस्कन नसक्दा ठूलो मानवीय क्षति भएको बताइएको छ।
धामोने परिवार गणेश चतुर्थीको तयारीमा रहेको र घरमा पूजाका लागि गणेशको मूर्ति राखिएको प्रहरीको भनाइ छ। खाना खाएपछि परिवारका सदस्यहरू फ्रिज रहेको स्थाननजिकै सुतेका थिए।
स्थानीयका अनुसार बिहान करिब २ः१५ बजे ठूलो विस्फोटको आवाज सुनिएको थियो। त्यसपछि स्थानीय घटनास्थलमा पुग्दा घरमा आगो लागेको देखेपछि उद्धारमा जुटेका थिए। उनीहरूले गजानन र रोशनलाई घरबाट बाहिर निकाल्न सफल भए पनि अन्य चार जनालाई भने बचाउन नसकिएको बताइएको छ।
फ्रिज विस्फोटको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

































