काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन बनेको संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ ।
आज संसद् भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोगलगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो ।
बैठक समापन पश्चात् सञ्चारकर्मीलाई जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिवसहितका अधिकारीसँग परामर्श भएको जानकारी दिएका छन् ।
उनले कानुनी अस्पष्टता, अधिकार क्षेत्रको बाँडफाँटसँग सम्बन्धित विषयलगायतका प्रश्नमा छलफल भएको जनाए।
साथै नेपाल कानुन आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमालचन्द्र अर्याल र नेपाल कानुन आयोगका सहसचिव पाश्र्वत ढुंगानासँग छलफल भएको थापाको भनाई छ ।





































