काठमाडौँ । यस वर्षको हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् ।
सोही क्रममा गीतकार निर्मलराज पौडेलको शब्द र चर्चित गायिका शान्ति श्री परियार र सङ्गीतकार मोहित मुनालको नयाँ सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत बजारमा आएको छ ।
चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तीज आयो ज्यान माया छमछमी नाचेर भन्ने मौलिक गीत परिवारका सबै जना एकै स्थानमा बसेर सुन्न र रमाउन सकिने गीतकार पौडेलले जानकारी दिए।
कतिपय तीज गीत विवादमा तानिँदै आएका बेला यस्ता मौलिक गीतले पर्वको महत्त्व झल्काउने उनको भनाई छ ।
तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख हुँदै गएको बेला मौलिक सृजनाका लागि आफूले अग्रसरता लिएको उनको भनाई छ ।
तीज गीतको परम्परा र मौलिकतालाई कायम राख्दै गरिएको सृजना श्रोता तथा दर्शकलाई मन पर्ने उनको विश्वास छ । पछिल्लो समय बजारमा सार्वजनिक भएका केही गीत तीजको महत्त्व र मर्म विपरीत भएको भन्दै आलोचना भइरहेको छ ।





































