काठमाडौँ। संसद्को अनुमति विना कुनैपनी गैरसरकारी संस्थाको कुनै प्रकारको सहयोग नलिन प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संसदीय समितिहरूलाई निर्देशन दिएका छन्।
मङ्गलवार सभामुख देवराज घिमिरे र अध्यक्ष नारायणप्रसाद दाहालको तर्फबाट पत्र जारी गर्दै संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी एवं अनुमति विना सहयोग नलिन निर्देशन दिएका हुन् ।
‘संसद्को संस्थागत जानकारी एवं अनुमति विना कतिपय गैरसरकारी संस्थाहरूले संसदीय समिति तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सांसदहरूको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पर्ने गरेको गुनासोहरू आइरहेकाले ध्यानाकर्षण गराइएको छ,’ पत्रमा भनिएको छ ।
आइतबार एक गैरसरकारी संस्थाका कर्मचारी खाजासहित उपस्थित भएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको थियो ।





































