काठमाडौँ – राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेकै कारण दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
बुधवार नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार बनेको धारणा व्यक्त गरेका छन् ।
‘नेकपा एमाले र नेपाली कांग्रेस समाज सुधारको एउटै लक्ष्य बनाएर अघि बढेका छन् । राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए । हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ ।
जातीय छुवाछूत र साम्प्रदायिकतालाई निमिट्यान्न पार्न वर्तमान सरकार तत्पर रहेको प्रधानमन्त्रीको भनाई छ। असमानता, अन्याय, छूवाछूत र दुःख भोगेर कोही सुखी हुन सक्दैन भन्दै उनले सुखी हुन असमानता र छुवाछूत हटाउनुपर्नेमा जोड दिए।
‘मान्छे एउटै हो । जन्मँदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मँदै श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुराहरूलाई मान्यता दिँदैन’, उनले भने ।



































