काठमाडौँ। नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधवार दुवै चेम्बरबिच आज सम्झौता भएको हो ।
कतारका अमिर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
तीव्र आर्थिक वृद्धि भइरहेको खाडी मुलुक कतारसँग संवादका लागि परिषद् स्थायी संयन्त्र बनेको छ ।
नेपालीहरूको कामको गन्तव्यका रूपमा चिनिँदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषद्ले प्रभावकारी भूमिका खेल्नेछ । खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडीबुटी, मसला र मसलाजन्य वस्तु लगायतको अत्यधिक माग छ ।
परिषद् स्थापनापछि दुई चेम्बरबिचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राख्नु भएको छ । ‘यस सम्झौताले अगामी दिनमा सहकार्यलाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले भने । यसै गरी महासंघ अध्यक्ष ढकालले परिषद्का मार्फत थप सहकार्यका लागि थप काम गरिने बताएका हुन। ‘कतारको तीव्र आर्थिक विकासबाट फाइदा लिन परिषद्ले निरन्तर काम गर्नेछ, ’ महासंघका अध्यक्ष ढकालले भने ।
यसै गरी महासंघ अध्यक्ष ढकालले परिषद्को स्थापना पछि नेपालको जल विद्युत्, पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुनेछ बताए । यसै गरी महासंघ र कतार चेम्बरबिचको समझदारी पनि नवीकरण भएको छ । नयाँ समझदारी पत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले हस्ताक्षर गरे ।


































