काठमाडौँ । मापसे गर्यो भन्दैमा नागरिकलाई सडकमा ठिंग्याएर राख्नु वैयक्तिक अधिकारमाथिको हनन भएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताएका छन् ।
सञ्चारकर्मीहरूसँगको कुराकानीमा खतिवडाले भने 'हामीले संविधान निर्माण गर्यौँ। सबै जात,धर्म र वर्गको अधिकार पनि स्थापित गरेका छौँ। कानुनी राज्यको परिकल्पना पनि गरेका छौँ।
अहिले सडकमा केही मान्छेहरूलाई कुनै मन्त्रीको निर्देशनमा कुनै उपप्रधानमन्त्रीको निर्देशनमा बिहानदेखि बेलुका ठिंग्याएर कानुनबिना राख्ने प्रवृत्ति गलत भएको खतिवडाको भनाई छ । मापसे गर्यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको हनन हो। यो बारेमा छलफल अगाडि बढाउनुपर्ने जरुरी हामीले देखेका छौँ। अहिले कानुनी राज्य भनेको राणा शासन होइन।
फेसबुके निर्देशन दिने अनि कानुन विपरीत नागरिकलाई सडकमा उभ्याउने काम गलत छ। यो पद्धतिविरुद्ध हामीले आवाज उठाउनुपर्नेछ। हामी यसबारेमा बैठक राख्छौँ।’ आक्रोश मिश्रित भावमा खतिवडाले भनेका छन् ।





































