काठमाडौँ । एमालेका सचिव गोकर्ण विष्टले सरकारले ल्याएको बजेट सन्तुलित मात्राको देखिए पनि कार्यान्वयनमा भने चुनौतीपूर्ण देखिएको बताएका छन् ।
मङ्गलवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१(८२ को विनियोजन बजेटमाथिको छलफलमा भाग लिँदै विष्टले अर्थमन्त्री वर्षमान पुनले बजेट सन्तुलित ल्याएको बताए । उनले सरकारले करका दर यथावत् वा तयारी वस्तुभन्दा कच्चा पदार्थमा पैठारी महसुल कम्तीमा १ प्रतिशत कम गर्नु बजेटको सकारात्मक पक्ष रहेको बताए ।
विष्टले चालु खर्च ६१ प्रतिशत, पुँजीगत १९ प्रतिशत र वित्तीय व्यवस्था २० प्रतिशतको कहालीलाग्दो अवस्था देखा परेको बताए।
सचिव विष्टले चालु आर्थिक वर्षको अहिलेसम्म ८ खर्ब ७५ अर्ब राजस्व प्राप्त हुँदा आगामी आर्थिक वर्षका लागि १२ खर्ब ६० अर्बको लक्ष्य बढी चुनौतीपूर्ण देखिएको बताए । उनले वैदेशिक अनुदानको हिसाबले हेर्दा हालसम्म १५ अर्ब मात्रै अनुदान प्राप्त भएको भन्दै आगामी आर्थिक वर्षमा ५२ खर्बको अपेक्षा यथार्थसँग मेल खाने सम्भावना कम रहेको बताए ।
त्यस्तै सचिव विष्ट आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब उठाउने अपेक्षा राखिएको भए पनि सरकारले आन्तरिक ऋण बढी लिएको अवस्थामा निजी क्षेत्रमा जाने कर्जा सङ्कुचित हुने, बैंकको ब्याजदर बढ्ने, निजी क्षेत्रले उत्पादन वृद्धि र रोजगारी गर्ने सम्भावना कम हुने भन्दै यो विषयमा अर्थमन्त्री पुनलाई गम्भीर हुन सुझाव दिए ।





































