काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रीले गर्ने काममा राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेका बैठकमा उनले यस्तो आग्रह गरेका हुन् ।
सांसदहरूले मन्त्रीले गर्ने काममा राजनीति गरेकै कारणले देश समृद्ध बन्न नसकेको जिकिर गर्दै विकासका कुरामा एक छिन राजनीति बिर्सिन सके मात्रै पनि देश समृद्ध बन्ने र नागरिकले सुख पाउने अर्यालको भनाई छ ।
कुनै एउटा मात्रै उद्योग चलाएर दसौँ हजारका लागि रोजगारी सिर्जना गर्न नसकिने बताउँदै यसका लागि साना व्यवसायदेखि सबै प्रकारका उद्योगहरू सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।
‘कुनै मन्त्रीले गर्ने काममा तपाईँ हामीले राजनीति गरिदिनु भएन । विकासका कुराहरूमा राजनीति नगरी दिनुहोला । विकासका कुरामा पार्टीका कुरा हेरिदिनु भएन । त्यति बेला हामीले पार्टी र राजनीति एक छिन बिर्सिने हो भने देश समृद्ध हुन्छ, नागरिकले सुख पाउँछन्, ’ उनले भने ।
‘हामीले कुनै एउटा उद्योग सञ्चालन गर्दैमा दसौँ हजारले रोजगारी पाउँदैनन् । तर, हामीले साना व्यवसायलाई संरक्षण गर्दै, साना, मझौला र ठुला उद्योगहरूलाई सञ्चालन गर्न सक्यौँ भने मात्र धेरैभन्दा धेरैका लागि रोजगारी सिर्जना गर्न सकिन्छ । अहिले केही अनलाइन व्यवसायले समेत रोजगारीको अवसर सिर्जना गरेका छन् । मन्त्री अर्यालले थप गरे ।





































