काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमा करको दर हेरफेर गरिने अर्थमन्त्री वर्षमान पुनले बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले आगामी बजेटका कारणसहित करको दर हेरफेर गरिने स्पष्ट पारेका छन् ।
उद्यमी व्यवसायीहरूलाई समग्र राष्ट्रको उद्योग व्यवसाय फस्टाउने योजना लिएर समूहमा छलफलमा आउन समेत मन्त्री पुनले आग्रह गरेका छन्। उनले भने, “मेरो व्यवसायका लागि भनेर नआउनुस् समग्र राष्ट्रको उद्यम व्यवसाय फस्टाउने योजना लिएर समूहमा आउनुस् काम गर्न तयार छौँ।”
अर्थ मन्त्रालयमा कुनै पनि फाइल नरोकिएको बताउँदै उनले सम्बन्धित मन्त्रालयबाट स्वीकृत भएर आएको फाइल पास गरेको मन्त्री पुनले जानकारी दिएका छन् । यद्यपि, पुँजीगत खर्च वृद्धि गर्न नसक्नु सरकारको कमजोरी रहेको मन्त्री पुनको स्वीकारोक्ति छ । एक महिनाअघि २३ प्रतिशत पुँजीगत खर्च भएकोमा एक महिनाभित्र उक्त खर्च ३० प्रतिशत पुगेको बताउँदै उनले अझै ३ महिनामा खर्च बढाउन सकिने बताएका छन् ।
आइटी क्षेत्रमा ठुलो सम्भावना रहेको बताउँदै मन्त्री पुनले आइटी उद्योगलाई प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । बन्दरगाह नचाहिने, भन्सार गइराख्न नपर्ने आइटी निर्यातबाट खर्बौँ रुपैयाँ भित्र्याउन सकिने उनको भनाइ छ। समस्या भएको क्षेत्रहरूबारे रचनात्मक बहस गर्न र सरकारलाई आलोचनात्मक सुझाव दिनसमेत मन्त्री पुनले आग्रह गरे । राजनीतिक कारणले निजी क्षेत्र र उद्यमी व्यवसायी आतङ्कित हुनुपर्ने अवस्था भएको बताउँदै उनले आफूलाई करेक्सन गर्नेसमेत बताए ।


































