काठमाडौँ । प्रतिनिधिसभाको रोष्ट्रममै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रस्तावमा बोल्ने क्रममा अध्यक्ष लिङदेनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन बजेटमा असन्तुष्टि जनाउँदै बजेट पुस्तिका च्यातेका हुन्।
आफू कम आक्रोश पोख्ने मान्छे भएको बताउँदै लिङदेनले मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको जनाए। पुस्तिका च्यातेर हु¥याउने मन भए पनि संसदीय मर्यादा विपरीत हुने भएकाले आफूले नहु¥याउने उनले बताए ।
अध्यक्ष लिङदेनले चार वटा निर्वाचन क्षेत्र बाहेकका प्रतिनिधि सभा सदस्यहरु बजेटप्रति असन्तुष्ट रहेको बताए । लाज र घिन नराखीकन राज्यको स्रोतमाथि मनपरी गरिएको उनको भनाइ थियो ।
‘एउटा जनताको प्रतिनिधिको हिसाबले मात्रै यो आक्रोश पोखिराखेको छु । तपाईँहरूलाई धन्यवाद दिनुपर्छ । किनभने तपाईँहरूले यो व्यवस्था काम लाग्दैन भनेर, यो निर्वाचन प्रणाली, यो राज्य संरचना काम लाग्दैन भनेर पुष्टि गर्नुभएको छ । र यसलाई चाँडो भत्काउन तपाईँहरू आफैँ सहयोगी बन्नुभएको छ,’ उनले भने ।





































