काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंह र राजन दाहालले केही सीमित व्यक्तिले शेयर बजारलाई कृत्रिम रूपमा बढाएर लगानीकर्ताको अर्बौ रकम गुमराहमा पारेका भन्दै गत सोमबार प्रतिनिधि सभाको बैठकमा बोलेपछि बजारका ओरालिएको लगानीकर्ताको भनाई छ ।
सोही सन्दर्भमा शेयर बजारका लगानीकर्ताले जनताका प्रतिनिधित्व गर्ने सांसदहरूले संसदमा शेयर बजारको सम्बन्धमा दिएको अभिव्यक्ति प्रति खेद प्रकट गरेका छन्। पुँजी बजारमा संलग्न विभिन्न चार संस्थाहरूले शेयर बजारमा दबाब सिर्जना गर्ने अभिव्यक्ति तत्काल फिर्ता लिन माग गर्दै विज्ञप्ति सार्वजनिक गरेका छन् ।
सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट आएको अभिव्यक्तिका कारण बजारमा दुई खर्ब क्षति भएको उनीहरूको आरोप छ ।
शेयर बजारमा चलखेल भएको हो भने सूक्ष्म अध्ययन गरी छानबिन गर्नुपर्ने र कानुन विपरीत कारोबार भएको रहेछ भने साथ दिन तयार रहेको विज्ञप्तिमा उल्लेख छ । तर बिना आधार संवेदनशील क्षेत्र बजारको विषयमा अभिव्यक्ति दिनेको विरुद्ध लगानीकर्ता एक जुट हुनुपर्ने उनीहरूको सामूहिक धारणा छ ।




































