काठमाडौँ । चितवनको सिमलतालमा भएको बस दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी कार्यलाई तीव्रता दिन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्।
प्रधानमन्त्री दाहालले आज तीन वटै सुरक्षा अंगका प्रमुखलाई निजी निवास खुमलटारमा बोलाएर उक्त निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।
दाहालले उक्त अवसरमा उनीहरूसँग दुर्घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिनुका साथै सबै उपायको अवलम्बन गरी खोजी कार्यलाई तीव्रता दिनका लागि निर्देशन दिएका हुन् । सिमलाललगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई प्रधानमन्त्री प्रचण्डले धन्यवाद प्रकट गरेका छन् ।
राजनीतिक परिस्थिति जेजस्तो भए पनि देशको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित तथा अविच्छिन्न रूपमा जनताको सेवामा लागि पर्न समेत दाहालले आग्रह गरेका छन् । सोही अवसरमा सिमलतालमागायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका कारण भएको जनधनको क्षतिप्रति दाहालले दुःख व्यक्त गरेका छन् ।





































