काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ मा सम्पन्न भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा आफ्नो दलका उम्मेदवार मिलन योङहाङ लिम्बूको हार र जमानत जफत केन्द्रित प्रतिक्रिया दिएका छन् ।
सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै जित्न नसेके पनि सिक्न सकिएको बताएका हुन् । उनले इफ, बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै पार्टीका सदस्यलाई आग्रह गरेका छन्।
‘इलाम २ को उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङजी विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु ।
हामीलाई मत दिनु हुने र मतसँगै ठुलो सन्देश दिनु हुने सबैप्रति आभारी छु,’ उनले लेखेका छन्, ‘रास्वपा उम्मेदवार मिलन लिम्बूलगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पङ्क्तिलाई धन्यवाद । जित्न सकिएन, सिक्न सकियो । त्यसैले कुनै इफ, बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ ।’ सभापति लामिछानेले लेखेका छन् ।
शनिवार सम्पन्न इलाम २ को उपनिर्वाचनमा ६८ हजार ४७२ मत सदर भएको थियो । १० प्रतिशत पुर्याउन ६ हजार ९३७ मत आवश्यक थियो । चौथो स्थानमा रहेका लिम्बूले ५ हजार ५० मत मात्रै पाएका छन् ।


































