काठमाडौं । भदौ महिनामा देशभरका मालपोत कार्यालयहरूले २७ हजार ४९४ वटा लिखत पारित गरेका छन्। यसअघि साउन महिनामा भने ३१ हजार ६२१ लिखत पारित भएको थियो। गत वर्षको भदौको तुलनामा पनि यस वर्ष कारोबार घटेको देखिन्छ। विभागका तथ्यांकअनुसार गत वर्ष भदौ महिनामा ३२ हजार ७९८ लिखत पारित भएको थियो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार भदौ महिनामा ३३ हजार ३८३ नामसारी सेवा प्रदान गरिएको छ। त्यस्तै ७ हजार ३६० संशोधन, २ हजार ३०६ हालरसाविक र २३ हजार ८९२ फुकुवा प्रक्रियामा रहेका छन्। यसैगरी, जग्गा दर्ता २८८, दाखिल खारेज १ हजार ५६१, मोही हक कायम १, मोहीयानी हक नामसारी ७५, मोही लगत कट्टा ३१२, जग्गा बाँडफाँड १२१ र प्रतिलिपि प्रक्रिया २ हजार ३५४ पुगेका छन्।
गुठीसम्बन्धी सेवाको संख्या भने तुलनात्मक रूपमा न्यून छ। भदौ महिनामा गुठी अधीनस्थ जग्गाको लिखत पारित १०४, नामसारी ३०, दाखिल खारेज ७ र गुठी जग्गा तथा सम्पदा २७१ मात्र भएको विभागले जनाएको छ। त्यस्तै, अपार्टमेन्टसम्बन्धी ३८ लिखत पारित भएका छन् भने गैर घरजग्गा सम्बन्धी २७१ लिखत पारित भएका छन्। सोही अवधिमा स्रेस्ता एकीकरण शून्य देखिएको छ भने आयोजना फिर्ताको लिखत २१ सेवा सम्पन्न भएको विभागले जनाएको छ।

































