काठमाडौं। हाइड्रोपावर कम्पनीहरुले धमाधम आइपीओ जारी गर्न अनुमति पाउँदा वास्तविक क्षेत्र अर्थात, रियल सेक्टरका कम्पनीले भने सहज रुपमा स्वीकृति पाएका छैनन् । करिब १६ महिना अघिदेखि बोर्डको स्वीकृति पर्खेर बसेको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले अहिलेसम्म अनुमति पाएको छैन ।
यसले बोर्डमा २०७८ फागुन २० गते निवेदन पेश गरेको थियो । स्वीकृति नपाउने मुक्तिनाथ मात्र होइन ।
सो समय भन्दा पछि आवेदन दिने हाइड्रोपावर लगायतका कम्पनीले भने धमाधम स्वीकृति पाएर दोस्रो बजारमा कारोबार पनि सुरु भइसकेको छ । तर डेढ वर्षदेखि अनुमति पर्खेका कतिपय कम्पनीलाई भने बोर्डले स्वीकृति दिएको छैन ।
यी कम्पनीहरुले आवश्यक कागजपत्र समयमा उपलब्ध नगरेको हुँदा प्रक्रिया ढिलो भएको बोर्डको भनाई छ । ‘हाइड्रोपावर कम्पनी समयमा आवश्यक सबै डकुमेन्ट बुझाउने गर्छन्, अरुले केही समय लगाएको हुँदा प्रक्रिया ढिलो हुने गरेको छ, ‘सेबोनका एक अधिकारिले बताए ।
हाल बोर्डको पाइपलाइनमा ३ वटा हाइड्रोपावर, ७ अन्य र २ वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरु गरी कुल १२ वटाले आवेदन दिएका छन् । जसमध्ये सबै भन्दा धेरै डिस मिडिया नेटवर्कले १ अर्ब ३५ करोड ८४ लाख रुपैयाँको आइपिओ जारी गर्न अनुमति मागेको हो ।
सबै भन्दा कम आइएमई लिमिटेडले १ करोड रुपैयाँको सेयर जारी गर्न अनुमति मागेको छ । स्वीकृति पाएपछि यसले १०० रुपैयाँ अंकित दरमा सेयर जारी गर्नेछ ।
कान्तिपुर टेलिभिजनले ७ करोड ५० लाख, नेपाल वेरहाउसले १३ करोड ७५ लाख, ट्रेड टावरले ११ करोड ५८ लाख ९८ हजार, अकोर्ड फर्मास्वुटिकल्सले ७ करोड ६ लाख ९० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति मागेको हो । १२ कम्पनीले कुल २ करोड ९६ लाख ८५ हजार ४८४ कित्ताका सेयर निष्कासनका लागि अनुमति मागेका छन् ।



































