काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो ठुलो महान् चाड तिहार सबैको घरदैलोमा आइसकेको छ । हिन्दु हरुका लागी विशेष महत्वको पर्व हो तिहार । झिलिमिली बत्ती, सप्तरङ्गी रंगोली, दियोकोे उज्यालोसँगै घर आँगन चिरिच्याट्ट पारेर घर र कर्मथलोमा लक्ष्मी भित्र्याउने सु–अवसरका रुपमा यो पर्व मनाइदैं आएको छ । तिहारका बेला लक्ष्मी भित्र्याउने साइतका रुपमा धनवन्तरी दिवसका दिन केही न केही धातु खरिद गरेर भित्र्याउने प्रचलन रहँदै आएको छ।
शुभ साइतका रुपमा धातुका भाँडाकुँडा, सुनचाँदीका सिक्का खरिद गरेर लक्ष्मी पूजामा समावेश गरेमा वर्षभर धन लाभ हुने र लक्ष्मीको बास भइरहने जनविश्वास रहेको छ। सामान्य आम्दानी हुनेले समेत आफूसँग भएको बचत रकमबाट थोरै नै भएपनी चाँदीको सिक्का(असर्फी) वा पूजाका भाँडाकुँडा वा देवी देवताको मूर्ती किन्ने चाहना बोकेको हुन्छ । चाँदीको सिक्का खरिद गर्दै जाँदा यसले भविष्यमा धातुको रुपमा सम्पत्ती जोड्न सहयोग पुग्छ । समृद्धिको अनुभूती पनि दिलाउँछ।
चाँदीका सिक्का किन्दै हुनुहुन्छ भने यस्ता कुरामा ध्यान दिनुहोस्
नेपालको सुन चाँदी लगायतका धातुमा मिसावट अत्यधिक हुने भएकाले कत्ती ग्राहक ठगिँदै आएको कुरा जगजाहेरै छ । सुनभन्दा अत्याधिक मिसावट चाँदीका सिक्का, गहना र भाँडाकुँडामा हुने गरेको छ। एक थान चाँदीको सिक्काका लागी दुई हजारदेखि ३ हजार रुपैयाँसम्म खरिद गर्ने उपभोक्ताहरुले सिक्कामा कती मिसावट गरिएको छ भन्ने पत्तो नै पाउँदैनन् । विशेष गरी तराईमा यो दिनमा नयाँ भाँडाकुँडा र चाँदीका सिक्काको माग उच्च हुने गरेको सरोकारवालाको भनाई छ।
मूल्यवान् धातु खरिद गर्दा ठगिनबाट जोगिनका लागि नेपाल राष्ट्र बैंक बाहेक अन्यत्रबाट सुन चाँदीको सिक्का खरिद नगर्नु नै बेस हुन्छ । मिसावटयुक्त चाँदीको सिक्कामा पैसा खेर फाल्नुभन्दा नगदै जम्मा गर्नु वा घरायसी प्रयोजनका उपकरण वा भाँडकुँडा खरिद गर्नु बुद्धिमानी हुन सक्छ ।





























