काठमाडौँ । आइतबारका दिन मात्रै एक खर्ब २३ अर्ब रुपैयाँ स्थायी निक्षेप राखेका बैंक तथा वित्तीय संस्थाले सोमबार नै ६४ अर्बको ट्रेजरी खरिद आवेदन दिएका छ । आवेदन परेसँगै बैंकमा अधिक तरलताको समस्या बढेको आकलन गरिएको छ ।
पछिल्लो समयमा आर्थिक गतिविधिमा सुधार आउन नसकेपछि बैंक तथा वित्तीय संस्थामा कर्जा माग बढ्न सकेको छैन । कर्जाको माग बढ्न नसकेसँगै बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या देखिएको छ ।
बैंक तथा वित्तीय संस्थाले आइतबार ३ प्रतिशत ब्याजदरमा एक खर्ब २३ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा निक्षेप राखेका छन् । त्यसको भोलिपल्टै अर्थात् सोमबार केन्द्रीय बैंकले निष्कासन गरेको १३ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरीका लागि बैंक तथा वित्तीय संस्थाले ६४ अर्ब रुपैयाँ धेरैको माग आवेदन दिएको केन्द्रीय बैंकको जानकारी छ ।
बैंकहरुको उच्च प्रतिस्पर्धाले ट्रेजरीको डिस्काउन्ट रेट समेत घटाएको छ। सोमबार केन्द्रीय बैंकले सरकारका लागि नविकरण गरेको दुबै प्रकारका ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट घटेको छ।
सोमबार केन्द्रीय बैंकले ६ अर्ब ४ करोड रुपैयाँ बराबरको ९१ दिने र ७ अर्ब बराबरको १८२ दिने ट्रेजरी बिल्स निष्कासन गरेको थियो। सो मध्ये ९१ दिने ट्रेजरीका लागि बैंक तथा वित्तीय संस्थाले ३२ अर्ब ६ करोड रुपौयँ बराबरको माग आवेदन दिएका छन् । उक्त आवेदनमा बैंक तथा वित्तीय संस्थाले अधिकतम २.८२९९ र न्यूनतम २.७४१९ प्रतिशत डिस्काउन्ट रेट माग गरेका छ ।
त्यसैगरी सोमबार नविकरण भएको १८२ दिने ट्रेजीका लागि बैंक तथा वित्तीय संस्थाले ३२ अर्ब २२ करोड रुपैयाँ बराबरको माग आवेदन दिएका छन् । सो ट्रेजरीका लागि बैंक तथा वित्तीय संस्थाहरूले अधिकतम ३.२३९८ र न्यूनतम ३.०९०० प्रतिशत माग गरेका छन् ।































