काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र स्वास्थ्य बीमा गराएका १ लाख बिमितको आगामी महिना जेठ १ गते कार्ड जारी हुने भएको छ । कार्ड जारी भएसँगै स्वास्थ्य उपचार सेवा सञ्चालन हुनेछ ।
महानगरको अनुसार बिमितको सङ्ख्या सबैभन्दा धेरै वडा नम्बर १५ मा रहेका छन् । उक्त दिन कार्ड जारी भएपनी बीमा गराउने कार्य निरन्तर चल्ने जनाएको छ ।
महानगरका अनुसार अहिले वडा नं.८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं.२६ लैनचौर, वडा नं. १४ कलंकी, वडा नं.१९ कंकेश्वरी र वडा नं. ३० ज्ञानेश्वरका स्वास्थ्य प्रवर्धन केन्द्र बीमा बोर्डमा सूचीकृत छन् ।
उल्लेखित केन्द्रहरूबाट स्वास्थ्य उपचार सेवा प्रदान गरिने महानगरको जानकारी छ । यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि भने सूचीकृत अस्पतालहरूमा पठाइने भएको छ । यसरी प्रदान गरिने उपचार सेवा अनलाइन प्रणालीमा आधारित हुनेछन् । यसका लागि हरेक केन्द्रका ५ जना स्वास्थ्यकर्मीलाई ४ दिने सफ्टवेयर सञ्चालन तालिम सुरु गरिएको छ ।






































