काठमाडौं । कुमारी बैंकले निक्षेपको ब्याजदर घटाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत ब्याजदर घटाउने योजनासहित बैंकदर, नीतिगत दर र निक्षेपको बोल कबोल दर घटाएसँगै कुमारी बैंकले सोही अनुसार नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
मंसिर २४ गतेबाटै लागु हुने गरि कुमारी बैंकले एक बर्ष भन्दा बढी अवधीको मुद्धति निक्षेपको ब्याजदर ९.६१० प्रतिशत कायम गरेको छ ।
६ महिनादेखि एक महिनासम्मको मुद्धति निक्षेपमा भने बैंकले ९.०१० प्रतिशत ब्याजदर दिनेछ ।
बैंकले बचत खाताको ब्याजदर पनि ०.८ प्रतिशतले घटाएको छ । हालसम्म बचत खातामा ७.५१ प्रतिशत ब्याजदर दिँदै आएको बैंकले अब अर्थात मंसिर २४ गतेदेखि भने ६.७१ प्रतिशत कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने उदेश्यसहित मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत बैंकदरलाई ०.५ प्रतिशतले घटाएको थियो । यसअघि ७.५ प्रतिशत रहेको बैंक दर अब ७ प्रतिशत कायम भएको छ । नितिगत दर झन १ प्रतिशतले घटाएको थियो । हालसम्म ६.५ प्रतिशत रहेको नितिगत दर घटेर अब ५.५ प्रतिशतमा सिमित भएको छ । राष्ट्र बैंकले निक्षेप संकलनको बोलकबोल दरपनि ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरेको छ ।
































