माघे संक्रान्तिमा विशेष गरी तिलको लड्डु, घिउ, चाकु, खिचडी र कन्दमूल खाने चलन छ । जाडो महिनामा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढाउन सहयोग गर्छ । त्यस्तै, कब्जियत नहोस् भन्नका लागि तरुल, पिडालु लगायतका कन्दमुल खाने गरिन्छ ।
तिलको लड्डुका फाइदा
उच्च रक्तचाप नियन्त्रणमा तिल मद्दतगार मानिन्छ । विभिन्न अनुशन्धानहरुले तिलमा पाइने तेलले उच्च रक्तचाप नियन्त्रण गर्ने पुष्टि गरेका छन् ।
तिलमा भएको म्याग्निसियमले मधुमेह रोगबाट टाढा राख्छ । तिलमा हुने फाइबरले पाचनक्रियालाई सन्तुलित राख्छ । साथै कब्जियत जस्ता समस्या निर्मूल पार्छ । खनिज तत्वले भरिपूर्ण तिल र गुड सेवनले शरीर उर्जावान बनिरहन्छ ।
तिलमा कपर, म्यानेशियम, ट्राइयोफान, आइरन, क्याल्सियम, फस्फोरस, जिंक, भिटामिन बी १ र फाइबर प्रचुरमात्रामा पाइन्छ । चौथाइ कप तिलमा २०६ क्यालोरी शक्ति हुन्छ । तिलमा एन्टिअक्सिडेन्ट गुण पनि हुन्छ । जसले शरीरलाई ब्याक्टेरियाबाट मुक्त राख्छ ।
घिउ, चाकु, सख्खरका फाइदा
घिउ, चाकु तथा सख्खरले शरीरलाई शक्ति प्रदान गर्नुका साथै शरीरलाई भित्रबाटै न्यानो बनाइराख्छ । साथै, यसले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसँग लड्ने क्षमताको विकास गर्न मद्दत गर्छ ।
त्यतिमात्र हैन, चाकु, तथा सख्खरले शरीरमा आवश्यक विभिन्न खनिज पदार्थको आपूर्ति समेत गर्छ । घिउ आफैमा अन स्याचुरेटेड फ्याटी एसिड भएकोल यसले शरीरमा बोसो जम्न दिदैन । बरु शरीरलाई आवश्यक पर्ने चिल्लोको प्रवाह गरी शरीरलाई बलियो बनाउन मद्दत गर्छ ।
घिउलाई सन्तुलित रूपमा प्रयोग गर्न सकेमा शरीरलाई ताप प्राप्त हुन्छ । यसको प्रयोग यसकारण गरिन्छ कि जाडो याममा हामीलाई बढी उर्जाको आवश्यकता हुन्छ । उक्त उर्जा घिउ, चाकु, सख्खरबाट प्राप्त हुन्छ भन्ने मान्यता छ । चाकुबाट अत्यधिक मात्रामा ग्लुकोज प्राप्त गर्न सकिन्छ । चाकुबाट क्यालोरी, कार्बोहाइड्रेड र आइरनसमेत प्राप्त गर्न सकिन्छ । तर, मधुमेह र मिर्गौलाका बिरामीले भने यसको बढी प्रयोग गर्नु हुँदैन ।
तरुलका फाइदा
सख्खर चिनीबाट मात्रै नभएर विभिन्न तत्वबाट बनाइने हुँदा खनिज पदार्थको रूपमा समेत काम गर्छ । माघे संक्रान्तिमा घरतरुल, वनतरुल, पिँडालु, सिमल तरुल, स्कुसको जरा, सख्खरखण्ड आदि पनि खाइन्छ । तरुलमा भिटामिन सी र पोटासियम पाइन्छ । पिँडालुमा भिटामिन सी पाइन्छ, साथै फाइभर पनि पर्याप्त मात्रामा पाइन्छ । सख्खरखण्डमा प्रशस्त मात्रामा भिटामिन ए पाइन्छ । यसले आँखालाई तेजिलो बनाउन पनि मद्दत गर्छ । अर्काे, शारीरिक विकासमा पनि सहयोग गर्छ । रोगसँग लड्ने अत्यधिक क्षमता विकास गर्छ ।
खिचडीका फाइदा
माघे संक्रान्तिका दिन खिचडी खानु परम्परा मात्रै नभई वैज्ञानिक हिसाबले पनि राम्रो मानिन्छ । सामान्यतया माघको महिनामा शितलहर चलिरहेको हुन्छ । शितलहरले शरीरमा क्षति पुर्याइरहेको क्षतिलाई तुरुन्त पुर्ति गर्न खिचडी महत्वपूर्ण मानिन्छ । किनकी यसमा चामलका साथै दाल, अदुवा, कयौं प्रकारका तरकारीको प्रयोग गरिएको हुन्छ । जसले शरीरमा तुरुन्त उर्जा दिन्छ ।





































