काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई मलेसिया जाने नेपाली श्रमिकको बायोमेडिकल शुल्क असुली प्रकरणमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। काठमाडौं जिल्ला अदालतले शुक्रबार अर्याललाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
अर्याललाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत आज अदालतमा पेस गरेको थियो। अदालतबाट अनुमति पाएसँगै प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाउनेछ।
मलेसियामा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकको बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्यालमाथि अनुसन्धान गरिरहेको छ।
भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो। उक्त प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित १० जनालाई पक्राउ गरिसकेको छ।


































