काठमाडौं। चैत महिनाको हालसम्मको अवधिमा मात्रै २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताए । यसअघि चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन ।
यस वर्ष पहिलोपटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु देखिएको थियो। उनका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापा दुई ठाउँ, चितवनमा एक ठाउँ र काठमाडौँमा एक स्थानमा बर्डफ्लु रोग देखिएको छ। उनले बर्डफ्लु देखिएको स्थानलाई नियन्त्रणमा लिई फैलिन नदेखिएको बताए ।
उनका अनुसार ती स्थानमा एक लाख चार हजार कुखुरा एवं हाँस नष्ट गरिएको छ । काठमाडौँको त्रिभुवन विश्वविद्यालय परिसरका कागमा बर्डफ्लु देखिएको थियो। सुनसरी, झापा र मोरङमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि ती जिल्लामा पशुपक्षी ओसारपसारमा प्रतिबन्ध लगाइएको महानिर्देशक डा.दाहालले बताए ।
सरकारले बर्डफ्लु देखिएपछि हाँस, कुखुरा नष्ट गर्ने गर्दछ र सो बापत ७५ प्रतिशत क्षतिपूर्ति किसानलाई उपलब्ध गराउँदै आएको छ। – रासस



































