काठमाण्डौं । जीवन बीमा कम्पनीहरुले १ खर्ब भन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको तथ्यांक बीमा प्राधिकरणले सार्वजनिक गरेको हो ।
यसपालि जीवन बीमा कम्पनीहरुले ६.३५ प्रतिशतले व्यवसाय बढाउन सफल भएका छन्। समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब १४ अर्ब १० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए भने चालु आवको वैशाख मसान्तसम्म आइपुग्दा १४ मध्ये दुईवटा कम्पनीको व्यवसाय गत आवको तुलनामा घटेको अवस्था छ ।
त्यस्तै, अरु १२ कम्पनीहरुले गत आर्थिक वर्षको तुलनामा व्यवसाय बढाएका छन् । सो अवधिसम्म सबैभन्दा बढी व्यवसाय भित्र्याउने अर्थात् सर्वाधिक बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ । कम्पनीले ३२ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरी सर्वाधिक व्यवसाय गर्ने जीवन बीमा कम्पनी बनेको छ । त्यस्तै, दोस्रोमा नेशनल लाइफले १४ अर्ब ३३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
यता नेशनल लाइफसँग टक्कर गर्दै एलआईसी नेपालले पनि १४ अर्ब २३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यसरी नै हिमालयन लाइफले १३ अर्ब ५१ करोड, सुर्यज्योति लाइफले ७ अर्ब २७ करोड, एशियन लाइफले ६ अर्ब ३८ करोड, राष्ट्रिय जीवन बीमाले ५ अर्ब ७६ करोड, सिटिजन लाइफले ४ अर्ब ७० करोड, सानिमा रिलायन्सले ४ अर्ब ६९ करोड, मेट लाइफले ४ अर्ब ५७ करोड, आइएमई लाइफले ३ अर्ब ६५ करोड, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ४१ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ३४ करोड र सन नेपाल लाइफले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको तथ्यांकमा देखिन्छ।
गत आर्थिक वर्षको तुलनामा यसपालि सबैभन्दा नेशनल लाइफले व्यवसाय बढाएको छ । गत आवको १० महिनामा १२ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको सो कम्पनीले चालु आवको यस अवधिसम्म १५.६१ प्रतिशतले व्यवसाय बढाएर १४ अर्ब ३३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, दोस्रोमा प्रभु महालक्ष्मी लाइफले १३.६७ प्रतिशतले व्यवसाय बढाउन सफल भएको छ । गत वर्ष ३ अर्ब ५० लाख रुपैयाँ प्रिमियम संकलन गरेको यस कम्पनीले चालु आवमा ३ अर्ब ४१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यसका साथै एशियन लाइफले १२.३१ प्रतिशत, आइएमई लाइफले ११.७७ प्रतिशत, रिलायबल नेपाल लाइफले ९.८२ प्रतिशत, हिमालयन लाइफले ९.८२ प्रतिशत, नेपाल लाइफले ९.२० प्रतिशत, सुर्यज्योति लाइफले ७.२९ प्रतिशत, मेट लाइफले ७.०६ प्रतिशत, सानिमा रिलायन्स लाइफले ६.३९ प्रतिशत, सिटिजन लाइफले ६.३६ प्रतिशत र एलआइसी नेपाललले ०.३३ प्रतिशतले व्यवसाय बढाएको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय भने २३.९२ प्रतिशतले घटेको छ । यसका साथै सन नेपाल लाइफको पनि १.६७ प्रतिशतले व्यवसाय घटेको बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ।






































