काठमाडौँ । आज (बिहीबार) नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ५ महिनाको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १७ अर्ब १७ करोड करोड रुपैयाँ कायम भएको छ ।
प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्षको पाँच महिनाको अवधिमा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले उक्त बीमा शुल्क आर्जन गर्न सफल भएका हुन्।
निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा ९.२७ प्रतिशतले बढेको छ।
त्यस्तै, मंसिर मसान्तसम्मको अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् भने गत आवको तुलनामा द ओरियन्टल इन्स्योरेन्स, नेपाल इन्स्यारेन्स र एनएलजी इन्स्योरेन्सको व्यवसाय आक्रामक रूपले वृद्धि भएको छ ।
मंसिर मसान्तसम्ममा नेपाल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ५२.३७ प्रतिशतले बढेर ९४ करोड ४६ लाख रुपैयाँ रहेको छ । साथै एनएलजी इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ११.२३ प्रतिशतले बढेर एक अर्ब एक करोड रुपैयाँबाट एक अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।
साथै, शिखर इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन १०.४५ प्रतिशतले वृद्धि भएको छ। निर्जीवन बीमा कम्पनीमा सर्वाधिक दाबी भुक्तानी दिएको यस कम्पनीले चालु आवको पाँच महिनामा एक अर्ब ७४ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।




































